काठमाडौं - पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार पूर्वसुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने धारणा राखे ।

उनले समृद्ध देश नबनाएसम्म आफूहरु शान्त भएर बस्न नसक्ने बताए । देशको समृद्धि र नागरिकको मुहारमा खुसी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक शुद्धता नभईकन देशले काँचुली नफेर्ने खनालको बुझाइ छ ।

‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदासम्म तपाईं हामी जो जहाँ छौँ, हामी शान्त रुपमा बस्न सक्दैनौँ । यो आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन । यो देशको समृद्धि र नागरिकको मुहारमा खुसी दिलाउन हामीले सक्नुपर्छ,’ उनले भने, ‘यो देशलाई जुनसुकै अवस्थामा क्राइसिसमा चाहे सुरक्षाको चासोमा टड्कारो आवश्यकता होस्, नेपालीहरुले दुःख पाउने बाटोको अन्त्य हामीले गर्नुपर्छ । अब राजनीति शुद्धता नभईकन देशले काँचुली फेर्दैन ।’

पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताए ।