काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।
माओवादी केन्द्र चितवनले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको दाबी गरे । अध्यक्ष दाहालले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।
आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रस्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीका तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।
सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशव्यापी रुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उनले जानकारी दिए ।
अध्यक्ष दाहाल ले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए । राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुदलगायत विभिन्न क्षेत्रमा दशौं योगदान गरेका व्यक्तिहरुको पार्टी प्रवेशले चितवनको राजनीति र वामपन्थी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उनले बताए । यसको प्रभाव र परिणाम देशैभरि पर्ने पनि उनले स्पष्ट गरे ।
उनले आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए । बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
एकीकृत समाजवादका नेता-कार्यकर्ता माओवादीमा
सो क्रममा अध्यक्ष दाहालले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने नेता-कार्यकर्तालाई स्वागत गरेका थिए ।
दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना वामपन्थी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य हुन् । त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराईलगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ ।


0 comment