काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति वाग्लेले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
‘जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्नुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ,’ उनले भने । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनले आरोप लगाए ।
सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा आशावादी रहेको उनले बताए । नागरिकका कुरा राख्ने, कानुन बनाउने र सरकारलाई उत्तरदायी बनाउने थलो संसद् रहेको उल्लेख गर्दै उनले संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।
अर्थ समितिमा छलफलका क्रममा रहेको आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याउँदा कानुनको उल्लंघन भएको उनको भनाइ थियो ।
सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनअनुसार सुधारका प्याकेज ल्याउन नसकेको उपसभापति वाग्लेले बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिएर संशोधन गरी पुनः पेस गर्न उनले सुझाए ।


0 comment