काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्‌को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् ।

संसद् भवनस्थित ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्ने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचनभन्दा अगाडि आमनिर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको जानकारी दिए । उनले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरु उठाएको पनि बताए ।

‘अध्यादेशको विषयमा मान्य सदस्यहरुले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरुले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्यूले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनुभयो,’ घिमिरेले पत्रकारहरुलाई भने, ‘आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा अगाडि आमनिर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग उठाउनुभएको छ ।’

बैठकमा पाथीभरा केबलकारका बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरुले आफ्ना धारणा राखेको प्रमुख सचेतक घिमिरेले बताए ।