काठमाडौं - जुट्दै र फुट्दै आएका मधेसकेन्द्रित दलहरू अन्तत मोर्चा बनाउन सहमत भएका छन् । सिंहदरबारमा बिहीबार बसेको आठ मधेशकेन्द्रित दलको बैठकले संयुक्त कार्यदल बनाई मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाएको हो ।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लालकर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य रहेका छन् । ८ दलबाट १/१ जना रहेका हुन् । कार्यदलले विशेष गरी साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने छ ।

सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर मोर्चा प्रस्तुत हुने छ ।  संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुन्छन् त्यसलाई हेरेर अगाडि बढ्ने जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको ठहर गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित गर्न नहुनेमा मधेसकेन्द्रित दलको जोड छ ।