काठमाडौं - नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई पराजित गर्दै सापकोटा ७१ मतले विजयी भएका हुन् ।
सापकोटाले ६८६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईले ६१५ मत पाएका थिए । अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।सापकोटा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्डनिकटका हुन् भने पराजित उपमहासचिव जनार्दन शर्मानिकट हुन् ।
अध्यक्ष प्रचण्डलाई उपमहासचिव शर्माले विद्यार्थीको चुनावबाट थप धक्का दिएका छन् । चुनावमा हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका अधिकांश पदाधिकारी पराजित भएका छन् । उपाध्यक्षमा शर्मापक्षले धेरै सिट जितेको छ ।
उपाध्यक्षमा ममता अधिकारी, अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका हुन् ।
क्रान्तिकारीको चुनावमा पार्टीका बहुमत पदाधिकारीहरू अध्यक्ष प्रचण्डसँग मिल्दा पनि शर्मा एक्लैले विद्यार्थीमा बहुमत ल्याएका छन् । महासचिवमा शर्मानिकट रोशन थापामगर विजयी भएका छन् ।


0 comment