काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्तिलाई जोगाउन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोडदिएका छन्।

बुधबार लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला उच्च माविको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेसालाई थोरै मिहिनेत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेसामा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए।

उनले कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्नेमा जोड दिए।उनले गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको समेत बताए ।

उनले भने,  ‘तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिए त्यतित्यति गाउँ रित्तिँदैछन्। शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ। ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट सहर र सहरबाट विदेशिने शृङ्खला अटुट छ।’ राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए।