काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी रहेको बताएका छन्।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा सोमबार आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए ।
उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे । उनले सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए। अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । उनले धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए । उनले नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको बताए ।
उनले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गरे । उनले यो बीचमा सम्पत्ति शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको स्वीकार गरे । उनले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको बताए ।


0 comment