काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त भएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवनको सोमबार उदघाटन गर्दै ओलीले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। अबको १७/१८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने समेत ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’

आफू नेतृत्वको सरकारले विभिन्न राम्रा काम गरेको समेत ओलीले दाबी गरे ।दुई ठुला दल मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके जनतामा भयानक निराशा छाउने ओलीको भनाइ थियो ।

‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’उनले भने ।’

गत असारमा कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्नेगरी ७ बुँदे सहमती गरेका थिए । जस अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बनेका हुन् । ०८४ सालको निर्वाचन गराउने गरी देउवाले सरकारको नेतृत्व गर्नेछन् ।