काठमाडौं - सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधि भएको बताएका छन् ।
काठमाडौंमा शनिबार प्रथम गलबन्दी फिल्म्स एन्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभइ सही कुराहरु आत्मसात् गर्न र गलत कुराहरु परित्याग गर्न महत्त्वपूर्ण औजार भएको धारणा राखे ।
उनले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न पनि उनको आग्रह छ ।
सभामुख घिमिरेले भने, ‘हाम्रो संस्कृति, हाम्रो कला, हाम्रो साहित्य अमूल्य निधि हुन् । खासगरी कला, कलाका विभिन्न विधाहरु हुन्छन् । कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै होइन । सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्न महत्त्वपूर्ण औजार हो । लोकगीत, लोकसंस्कार, लोकभाकाको जगेर्ना गर्नुपर्नेछ ।’
सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने पनि बताए ।


0 comment