काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्षभित्रमा पानी खुवाउने प्रतिबद्धता जनाए । उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेन्डर प्रक्रिया अघि बढाउने बताए ।
धरानवासीलाई पानी खुवाउन करिब ६ अर्ब आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूले एडीबीसँग बिहीबार मात्रै छलफल गरेको पनि बताए । उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टन्टबाजी गरेको आरोपसमेत लगाए । मेयरले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने मन्त्री यादवको जिकिर थियो ।
‘अहिलेको मेयर साब हर्कजीले पानी ल्याउँछु भनेर कुद्नुभयो । कतै-कतै पानी त ल्याउनुभयो । एउटा वाडमा पनि पुग्दैन । नपुगेपछि केन्द्रलाई गुहार्नुभयो । तर संघले आफ्नो नागरिक, नेपाली जनतालाई पानी दिनको निमित्त आतुर छ, सम्माननीय प्रधानमन्त्रीजीले प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेपछि र म खानेपानीमन्त्री बनिसकेपछि मलाई बोलाएर १५ दिनपछि धरानको विषयमा भन्नुभयो ।
त्यहाँ कसरी पानी जान्छ, तयारी गर्नुस् भन्नुभयो । त्यहाँ कसरी दिने भन्ने प्लान बनाएँ । त्यहाँ बजेट ठुलो छ । करिब करिब ६ अर्बको बजेट चाहिन्छ,’ मन्त्री यादवले भने, ‘मैले अर्थमन्त्रीजीलाई समन्वय गर्न गएँ । उहाँले एडीबीको ऋण सहयोग धरानमा लागु गर्नुस् र धरानका नागरिकलाई खानेपानीको समाधान गर्नुस् । त्यहाँ जग्गाको समस्या छ । स्थानीय निकायले त्यो गर्छ ।
हर्क साम्पाङजीको काम जग्गा दिलाउने काम गर्नुपर्छ । त्यो सबै काम भएपछि हामी धरानमा खानेपानीको काम गर्छौं । एडीबीका कन्ट्री डाइरेक्टरसँग छलफल गरिसकेका छौँ । गाग्रो लिएर जाने, पानी देऊ भन्ने । गाग्रीमा पानी भरेर दिएर पुग्दैन, त्यसको लागि बजेट दिनुपर्छ । मिडिया स्टन्ट गर्नु अलग कुरा हो । काम गर्नु अलग कुरा हो । अहिलेको सरकारले प्रधानमन्त्रीको निर्देशन काम गरेर देखाउन भन्ने छ, त्यहीअनुसार काम गरेर देखाउँछौँ । काम गरेर देखाउँछौँ । स्टन्ट गर्दैनौँ । स्टन्ट गर्ने काम स्टटबाजीको हो । तिनीहरुको पसल त्यसैगरी चल्छ ।’
मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने दाबीसमेत गरे ।


0 comment