काठमाडौं - दश महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । 

गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले बिहिबारबाट नेतृत्व पाएका हुन् ।

लेखा समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।

कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई हिजो नै पद तथा गोपनियताको शपथग्रहण गराएकी छिन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तर छिन् ।

यसअघि लेखा समितिको सभापतिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिमा दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी रहेका थिए । लामो समयसम्म समिति नेतृत्वविहीन हुँदा सरकारका कामकारबाही निगरानी गर्नेदेखि समितिमा गएका विधेयकउपर छलफल हुनसकेको थिएन ।