काठमाडौं - माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा बुधवार भएको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले उद्योगहरुलाई संरक्षण गर्ने विषयमा कसैको विमति नभएको तर मूल्यका कार्टेलिङ गर्ने कुरा गलत भएको बताए । 

सांसद शर्माले बजारले वस्तुहरुको मूल्य निर्धारण गर्ने भएकाले कार्टेलिङ भएपछि बजारले मूल्य निर्धारण गर्न नपाउने बताए । बजारमा सिन्डिकेट भएपछि हरेक वस्तुको मूल्य वृद्धि हुने बताए । उनले बजारमा मैल्यवृद्धि र कार्टेलिङ हुन दिन राज्यको कमजोरी भएको बताए । 

सरकारले कार्टेलिङ गर्न दिने नभइ हस्तक्षेप गर्न आवश्यक रहेको बताए । उनले जनता र उपभोक्तालाई मारमा पार्ने गरी उद्योगीहरुले कार्टेलिङ गर्ने कुरा ठिक नभएको भन्दै सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताए । 

उद्योगीहरुले कार्टेलिङ गरेर उद्योग चलाउन नपाइने उनको भनाइ थियो । उनले मूल्य नियन्त्रण सरकारले गर्ने भएकाले समितिले छलफल गर्नुपर्ने विषय नभएको बताए । उनले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने पनि बताए । उनले सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको बताए।