काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताएका छन्।

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधवार आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताए । 

उनले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । उनले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताए ।

उपसभापति गुरुङले पोखरा-मुग्लिङ सडक फोर लेन र मुग्लिङ-काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताए ।