काठमाडौं - प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताएका हुन् ।
भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाई भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष डा केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताएका थिए ।
सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपालीहरुलाई १० वर्षे भिषा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसंगको भेटलाई तिब्र पारेका छन् । यसअघि उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर संघका माग बारे ध्यानार्कषण गराएका छन् ।


0 comment