काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । चितवनमा आज(म‌ंगलबार) पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धन प्राकृतिक नै नभएको तर्क गर्दै उनले सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएको र अध्यादेशसम्म आउँदा लाजमर्दो भएको दाहालको टिप्पणी थियो । सत्ताबाट हटेको दिनदेखि नै अध्यक्ष दाहाले सधैं सरकारको आयुको बारेमा बोल्दै आएका छन् । विपक्षी दलहरु सत्ता साझेदार दलहरुकोबीचमा तिक्तताले फाटो ल्याओस् भन्ने चाहन्छन् ।

भरतपुर विमानस्थलमै प्रचण्डसँगै भेट भएका कांग्रेस नेता शशांक कोइरालाले सरकार तत्काल ढलिहाल्ने अवस्थामा नरहेको बताए ।

सरकारको स्थायित्वका लागि पनि दुई ठुलो दल मिल्नुको विकल्प नरहेको प्रष्ट पार्दै नेता कोइराले तत्काल तलमाथि हुने सम्भावना नरहेको बताए । तर उनले भने, ‘राजनीति हो, जे पनि हुनसक्छ, नहुने होइन ।’

स्थिर सरकार भए विकाससहितका जनताका चाहना पुरा गर्न सहज हुने उनको भनाइ थियो ।उनले संविधान संशोधनका विषयमा सत्तासाझेदार दलहरू स्पष्ट हुनुपर्ने पनि बताए । कुन विषयमा कस्तो संशोधन गर्ने भन्ने स्पष्ट भएपछि मात्र त्यसबारे छलफल गर्न सकिने उनको भनाइ थियो ।