काठमाडौं - आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१- ८२ को ६ महिनाको अवधिमा तीन अर्ब १९ करोड छ लाख राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१- ८२ को छ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ ।
यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ करोड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८०- ८१ को तुलनामा रु २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०- ८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो ।
प्रमुख सुवेदीका अनुसार चालु आव २०८१- ८२ मा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।


0 comment