काठमाडौं - मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी गरेका छन् । 

काठमाडौंबाट शुक्रबार बिहान धनगढी पुगेको डा. रावलले विमानस्थलमा पत्रकारसँगको कुराकानीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने बताए।

रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अहिले कुनै टिप्पणी नगर्ने बताए ।

उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आफू त्यसमै लागेको बताए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे ।

रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए । पत्रकार भेटघाटपछि रावल गृहजिल्ला अछामतर्फ प्रस्थान गरेका छन् ।

एमालेबाट निस्कासनमा परेपछि पुस १७ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।

उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’ को नामबाट देशदौडाहा गरिरहेका छन् ।