काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री डा. राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई बिहीबार साँझ मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
उनले भनिन्, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकाङ्क्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”
आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उनको सुझाव थियो ।
मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरुले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री राणाले विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनालाई विश्व बजारसम्म पुर्याउन आवश्यक बताइन् ।
मन्त्री डा. राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्द्धन गर्ने कामका लागि आफू रहेका स्थानमा समयसमयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरिन्।
नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्न सक्ने समस्यालाई ध्यानमा राखेर जलवायु न्यायका विषयलाई विश्वव्यापी रुपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ- आफ्ना ठाउँबाट लाग्न मन्त्री डा. राणाले सबैलाई आग्रह गरेकी छिन् ।


0 comment