काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

पिएसबीको पूर्वप्रारम्भ (प्रि-लन्चिङ) कार्यक्रमको बिहीबार आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवर्द्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिए। 
    
मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए ।     

मन्त्री गुरुङले पिएसबीले स्वायत्त रुपमा काम गर्ने उल्लेख गर्दै आगामी दिनमा गोरखापत्र संस्थान पनि सोही ढाँचामा सञ्चालन हुनसक्ने बताए । संस्थाहरु स्वतन्त्र हुनुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा उनले स्वतन्त्रभन्दा धेरै स्वायत्त हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । 

मन्त्री गुरुङले पिएसबीसँग सम्बन्धित नियमावली र विनियमावली निर्माणमा मन्त्रालयले हस्तक्षेत नगर्ने समेत स्पष्ट पारे ।

पिएसबीका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले ऐनले निर्दिष्ट गरेको विषयमा काम गर्न आफूहरु कटिबद्ध रहेको बताए । उनले पूर्वप्रारम्भ कार्यक्रमको तीनदिने कार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४० जना विज्ञबाट प्राप्त सुझावअनुसार सेवा प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सार्वजनिक प्रसारण रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल टेलिभिजनका टावरहरु मर्ज प्रक्रिया प्रारम्भ भइसकेको बताए । रासस