काठमाडौं - गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ ।
    
कीर्तिपुरमा आज आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए ।

उनले विपद्को समयमा अत्यावश्यक सामग्रीको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए।
    
“आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लगिनेछ”, गृहमन्त्री लेखकले भने, “सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थालगायत समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनः निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।” सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो ।
    
जाजरकोटलगायत भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसकेको गृहमन्त्री लेखकले जानकारी दिए ।

स्थायी आवास निर्माणसम्बन्धी कार्यविधि कार्य समितिको बैठकबाट पारित भइसकेकोले जाजरकोट भूकम्पबाट भएको क्षतिको आँकलन यसै महिनादेखि प्रारम्भ गरिने उनले बताए ।