प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान हुने दाबी गरेका छन् ।
बालुवाटारमा उद्योगी व्यवसायीहरुले आज (बुधबार) अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेश आजै जारी हुने समेत बताए।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए । उनले अध्यादेशहरु ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइरहेको बताए । उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको आरोप लगाए । विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।
‘सबैभन्दा बढी जनता र देशका लागि केही गरौं भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको प्रधानमन्त्री ओलीले भने, ‘त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढंगले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? त्यस दिशमा सरकारले सोच्नुपर्छ ।’
‘काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छन् उनले भने, ‘सरकार आपसमा बसेर यस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ यस सन्दर्भमा म नेकपा एमाले, नेपाली काँग्रेसका नेताहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको समेत बताए ।


0 comment