काठमाडौं - उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर सँगै नैतिक शिक्षामा पनि जोड दिनुपर्ने बताएका छन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय भवनको समुद्घाटन उपराष्ट्रपति यादवले  विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिन विकासमा जोड दिँदै समाज र देशको माटो, हावापानी र भूगोल आदि सुहाउँदो शिक्षामा थप केन्द्रित हुन उत्तिकै जरुरी रहेको बताए ।

उनले पछिल्लो समय सामुदायिक विद्यालयहरुप्रति बढ्दो नकारात्मक भावनालाई चिर्न बलम्बु मावि एउटा उदाहरण हुन सक्ने उल्लेख गर्दै विद्यालयले आफ्नो स्थापनाकालदेखि राम्रो पठनपाठन गर्दै आएकोमा अब प्राविधिक धारतर्फ पनि एक कदम अगाडि बढ्नु सकारात्मक रहेको बताए ।

‘यो कदम समय र आजको प्रविधि–सीपयुक्त सिकाइको माग अनुरुप छ ’ उपराष्ट्रपति यादवले भने, ‘यस सन्दर्भमा, विद्यालयले संचालन गर्न लागेको प्रविधि धारतर्फको कार्यक्रम बढी उपयोगी हुने विश्वास व्यक्त गर्दछु ।’

उनले सामुदायिक विद्यालयहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यी विद्यालयहरुले शिक्षा मात्रै प्रदान गरिरहेको छैन, समाजका विभिन्न वर्गका बालबालिकाहरुलाई समान अवसर र स्रोतहरु पनि उपलब्ध गराउँदै आएकोमा प्रशंसा पनि गरे ।

 उत्कृष्टता आफैमा महत्वपूर्ण उपलब्धि हो, यो एउटा असल ‘टीम वर्क’ बिना असम्भव छ’ उनले भने, ‘यस विद्यालयले निरन्तर रुपमा प्रदर्शन गर्दै आएको उत्कृष्टता , विद्यार्थी, अभिभावक र शिक्षकहरुको अथक प्रयास, लगन र परिश्रमबाटै सम्भव भएको हो, यसमा निरन्तरता आवश्यक र अपरिहार्य छ ।’

उपराष्ट्रपति यादवले यसका लागि शिक्षण सिकाई क्रियाकलापहरु परीक्षा केन्द्रित मात्रै नभई जीवनको कठिन घडीमा विद्यार्थीहरुले समस्याहरुबाट सिक्ने खालका व्यवहारिक र अनुकुलित हुनु पर्नेमा जोड दिए ।

 ‘विद्यालयले प्रयोगशाला, पुस्तकालय, खेलकूद, कम्प्यूटर ल्याब जस्ता सुविधाहरुलाई परिस्कृत र परिमार्जित गर्दै विद्यार्थीहरुको समग्र विकासमा सहायक बन्ने गरी अघि बढ्न सक्नु पर्दछ’ उनले भने, ‘समावेशी शिक्षालाई बढावा दिने सामुदायिक विद्यालयहरुमा समाजका प्रत्येक वर्गका बालबालिकाहरुले समान अवसर पाउँने वातावरण सक्रियताका साथ निर्माण गर्न आवश्यक छ ।’

उनले सामुदायिक विद्यालयहरु आर्थिक रुपमा कमजोर र पछाडि परेका समुदायका बालबालिकाहरुलाई उच्च गुणस्तरसहितको शिक्षा प्रदान गर्नका लागि कटिबद्ध र प्रतिबद्ध भई विद्यालयलाई व्यवहारिक सिकाइ केन्द्रका रुपमा अघि बढाउन जरुरी रहेको बताए । ’

उपराष्ट्रपति यादवले समाज र देशको गर्वका रुपमा रहेको सामुदायिक विद्यालयलाई ज्ञान, सीप, नैतिकता, देशप्रेम र संस्कारले सुसज्जित गर्न एवम् थप उचाईमा पुर्याउन निरन्तर प्रयासरत रहन आग्रहसँगै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे। उनले समारोहमा विद्यालयमा योगदान पुर्याउने संस्था र व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत हस्तान्तरण गरेका थिए ।