काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका छन् ।

मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा मन्त्री गुरुङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन् ।

उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालिन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ती सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताए। 

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए। नेपालका प्रत्येक भुगोलमा समाचार सेवा पुर्‍याउन सकेको ठुलो उपलब्धी मान्नुपर्ने उनको भनाइ छ ।

‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वनजनिक प्रशारण संस्थाहरुले गरेको हो उनले भने, ‘तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरु यसको सिद्धान्त मुताविक चलाउन नसक्दाखेरि सत्ता र निश्चित व्यक्तिको चाकडि गर्ने संस्थाको रुपमा डेप्लभ भयो । त्यत्रो राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरुको चाकडी गर्ने संस्थाको रुपमा विकास भयो । त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रुपमा सार्वजनिक सेवा प्रशारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भूमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहीँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु । हाम्रो प्रशारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भुगोलको सबै ठाउँमा पुग्नु पर्‍यो । त्यति मात्र गर्न सकियो भने पनि महान उपलब्धी हुन्छ भन्ने लाग्छ ।’

नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक प्रशारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिए।