काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताएका छन् ।

राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भए पनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको धारणा राखे ।

‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । त्यसैले हामी कोही बिरामी भयौँ । उसको उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्ता गरेको स्थिति छ । तर बिरामी हुन नदिने भन्नेबारेमा हामील ठोस काम गर्न सकेका छैनौँ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ,’ उनले भने ।

उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताए । रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न मान्छेले रहरले रोग बोकेको हुँदैन । नजानेर बोकेको हुन्छ,’ मन्त्री पौडेलले भने, ‘कसैलाई पनि क्यान्सर बोक्ने रहर हुँदैन, कसैलाई पनि किड्नीमा समस्या बोकेर बाँच्ने रहर हुँदैन । तर क्यान्सर शरीरमा प्रवेश गर्न नदिने कसरी हो त्यो जान्न जरुरी छ । किड्नी स्वस्थ कसरी राख्ने ? त्यो जान्न जरुरी छ । मुटु कसरी स्वस्थ राख्ने, सुखी हुने कसरी त्यो पनि जान्न जरुरी छ ।’

निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको सुरुवातसमेत गर्न नसकेको अवस्था रहेको भन्दै उनले मानसिक रोगको समस्याबाट धेरै मानिस ग्रस्त भएको उल्लेख गरे । भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको उहाँको भनाइ छ । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्नेमा उनले जोड दिए ।

‘निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको सुरुवात पनि गर्न सकिरहेका छैनौँ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका छन्,’ उनले भने, ‘यो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको छ । यसलाई कुन माध्यमबाट हल गर्ने ? यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन । यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ ।’

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको पनि बताए । योग उपचारका निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ छ ।