काठमाडौं  — ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भाले विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने एउटा विधेयकमा हस्ताक्षर गरेका छन् । विश्वभर विद्यालयमा स्मार्टफोनको प्रयोग सीमित पार्ने ट्रेन्ड चलिरहँदा सोमबार सिल्भाले उक्त विधेयकमा हस्ताक्षर गरेका हुन् । 


यो कदमपछि फेब्रुअरीदेखि लागू हुने गरी ब्राजिलमा प्राथमिक र उच्च विद्यालयका विद्यार्थीहरूले स्मार्टफोन चलाउन पाउने छैनन् । विद्यार्थीले आकस्मिक स्थिति वा खतरा उत्पन्न भएको अवस्थामा वा शैक्षिक प्रयोजनका लागि मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने कानुनी प्रावधान रहनेछ । 


स्मार्टफोनकै सहारा लिनु पर्ने अशक्त विद्यार्थीलाई भने यसमा छूट पाउने छन् ।सानै उमेरदेखि विद्यार्थीहरू अनलाइनमा बस्न थालेको अनि छोराछोरीहरू के गरिरहेका छन् भनेर अभिभावकहरूलाई नियाल्न गाह्रो भएको शिक्षा मन्त्री क्यामिलो सन्तानाले पत्रकारहरू समक्ष भनेका छन् । 


विद्यालयमा स्मार्टफोनको प्रयोगमा रोक लगाउँदा अभिभावकहरूलाई मद्दत मिल्ने उनको भनाइ छ । सरकारको यो कदमलाई अभिभावक र विद्यार्थीहरूले पनि मन्जुरी दिएका थिए ।
एजेन्सी