काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गरेका छन् ।
बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजित ‘नेपाल- बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति धन्यवाद प्रकट गरेको उनका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
दुई देशबीचका ऐतिहासिक सम्बन्धलाई आज जनस्तरको सहकार्यले बढाउँदै लगेको उल्लेख गर्दै नेता कोइरालाले यही सम्बन्धका आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्को तर्फबाट निरन्तर सहयोगका लागि बेलायती सरकारप्रति आभार प्रकट गरेका छन् ।
दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेको र कतिले आफ्नो अमूल्य जीवन पनि गुमाएको स्मरण गराउँदै गोर्खा सैनिकले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उनीहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिन पनि नेता कोइरालाले आग्रह गरेका छन् ।
सङ्कटमा बेलायतले गरेको सहयोग प्रशंसनीय
नेपालमा सङ्कट परेको बेलामा बेलायत सरकारले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा प्रगाढ बनाएको कांग्रेसका नेता डा. कोइरालाले बताए ।
एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड- १९ को बेलामा गरेको सहयोगहरू उल्लेख्य भएको भन्दै प्रशंसा गरे ।
नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको जानकारी गराउँदै उनले नेपालमा बेलायती लगानी सकारात्मक भए पनि यसमा अझ वृद्धि गर्न सकिने उल्लेख गरे ।


0 comment