काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपमा सडक सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

सिन्धुपाल्चोकको सुकुटेमा आज (सोमबार) का  पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरेका हुन् । 

काठमाडौ-सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उनको भनाइ थियो ।यसपटकको बाढीपहिरोले काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो ।