काठमाडौं - नेकपा (माओवादी केन्द्र) का सांसद श्रीकृष्ण अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा बजारीकरण मौलाएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज(सोमबार) को बैठमा उनले यस्तो बताएका हुन् ।

सरकारी अस्पतालहरुमा व्यापारीकरण बढेको कारण नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको उनको गुनासो थियो । उनले सरकारी अस्पतालहरुका आपतकालिन केन्द्रहरुको अनुगमन गर्न समिति सभापति समक्ष माग राखे । उनले सरकारी अस्पतालका इमरजेन्सीहरुमा चिकित्सकको लापरबाहीका कारण गुण्स्तरीय उपचार सेवा प्रवाह हुन नसकेको पनि बताए ।

‘आजको चुनौति फेरि आधारभुत स्वास्थ्य सेवामा नागरिकको पहुँच  पुर्‍याउने भन्ने देखेको छु उनले भने,  ‘स्वास्थ्यको क्षेत्रमा अत्यन्तै बजारिकरण र व्यापारिकरण छ कि त्यो सरकार अस्पतालहरुमै देखिन्छ । अब हामीले एक पटक सरकारी अस्पतालहरुको आपत्कालीन केन्द्रहरुमा अनुगमन गर्नुपर्ने आवश्यकता मैले देखेको छु । त्यहाँ सेवा लिन जाने बिरामीहरुले पाएको दुःख अत्यन्त छ । न त्यहाँ गुणस्तर छ न त सहज उपचार हुन्छ । बिरामी एकदम सिकिस्त भएपछि इमरजेन्सीमा पुग्छ तर त्यहाँ त्यहाँ डाक्टर पनि हुँदैन, गुणस्तरीय उपचार पनि हुँदैन । त्यसकारण सरकारी अस्पतालका इमरजेन्सीहरुलाई सुधार गर्न अत्यनत जरुरी छ।’

यस्तै सांसद अधिकारीले स्वास्थ्य सेवा समाजवादउन्मुख हुन नसकेको बताए । उनले संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै यसमा हाम्रो नीति के हो ? भन्दै प्रश्न गरे । उनले अझैपनि दुर्गम भेगमा आधारभुत स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले भने, ‘हाम्रो संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक भनेर भनेको छ । हामीले  त झन हाम्रो संविधान समाजवादउन्मुख भनेका छौं । त्यो अनुसारको हाम्रो नीति  के हुने त ? यसमा हामीले आधारभुत तहबाट हेर्दाखेरि चाहीँ थाइल्याण्ड र क्युवाले गरेको व्यवस्थापमा हामीले अलिकति ध्यान दिनुपर्छ कि । हामीले ठूला ठूला कार्यक्रम त ल्याउने भयौं तर कार्यान्वयनमा चाहीँ अहिले पनि दूरदराजमा पाँच, दश, पन्ध्र शैय्याको अस्पताल निर्माण हुन पाएको छैन ।’

नेकपा एमालेकी सांसद सुमित्रा बि.सीले सिंहदरबार वैद्यखानाको कर्मचारीहरु लामो समयदेखि करारमा काम गरिरहेको उल्लेख गर्दै उनीहरुलाई स्थायी बनाउन माग गरिन्। उनले वैद्यखानाका कर्मचारीहरुले जीवनको उर्वर समय त्यही खर्च गरकोले स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भिर हुनुपर्ने बताए । उनले देशभित्रका सम्पूर्ण उद्योगहरु कच्चा पदार्थको अभावमा जर्जर भएको बताए । उनले उपलब्ध जडिबुटीको सदुपयोग गर्दै स्वदेशमै औषधि उत्पादन गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

‘सिंहदरबार वैद्यखानाको कर्मचारी कति वर्षदेखि अस्थायी, करार काम गरिरहनुभएको छ उनले भनिन् ,‘उहाँहरुको सेवा अवधी अब के हुने ? यसको विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ ।’

बैठकमा अधिकांश सांसदहरुले स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरुको अन्त्य गर्न जरुरी रहेको धारणा राखेका थिए। बैठकमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भएको हो।