काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चस्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने आश्वासन दिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९औं अधिवेशनमा उनले नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चस्मामा लाग्ने कर हटाउनुपर्नेमा जोड दिए ।
‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चस्मामा चाहीँ भ्याट लाइरहेको छ । जस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चस्माहरुमा भ्याट हटउँदा राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसमा वर्कआउट गर्न हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहन्छु । ’
उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामूलक भएको उल्लेख गर्दै चस्मामा लाग्ने भ्याट व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा थप टेवा पुग्ने बताए । मेडिकल चस्मामा लगाइने भ्याट हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने उनको भनाइ छ ।
‘तपाईंको संस्था गैरसरकारी भएको र नाफामूलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’
उनले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रसंशा गर्दै जारी अधिवेशनको सफलताका लागि शुभकामनासमेत व्यक्त गरे ।


0 comment