नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्तिप्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । काठमाडौंमा बुधबार ‘शान्तिप्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्ने अवस्था रहेको जिकिर गरेका हुन् ।

उनले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए । शान्तिप्रक्रियाका कामहरू टुंग्याउने विषयलाई कतिपयले व्यवसायका रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रका रूपमा लिएकाले टुंगिन नसकेको उनको भनाइ छ ।

‘अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । शान्तिसम्झौता के कारणले भयो, त्यहाँ ठूलो युद्ध भयो, हजारौंको बलिदान भयो । राज्य पक्षको पनि विद्रोही पक्षको पनि । एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्‍यो,’ उनले भने, ‘एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौंला भन्ने छ ।’

अध्यक्ष दाहालले सडकबाट राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताए ।

उनले शान्तिप्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताए । शान्तिप्रक्रियालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्छ भनेर निरन्तर लागिरहेको उल्लेख गर्दै उनले केही राजनीतिक शक्तिहरुले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रुपमा लिएका कारण टुंगिन समस्या भएको दाबी गरेका हुन् ।

बाह्रबुँदे समझदारी र शान्तिसम्झौता संविधानको अंग भइसकेपछि अब संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै उनले यसमा गम्भीर हुन सरकारलाई आग्रह गरे । चाँडै अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गरेर यो विषयको ध्यानाकर्षण गराउने र रोकिएको प्रक्रिया अघि बढाउन आग्रह गर्ने पनि उनले आश्वासन दिए ।

शान्तिप्रक्रिया लम्बिनुका धेरै कारण रहेको र अहिले ती कारणका पोका खोल्ने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे । दाहालले आफू युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको पनि बताए ।

उनले पटकपटक आफूलाई बहुमत र अल्पमतका आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिए पनि त्यसलाई इन्कार गरेको जानकारी दिए । उनले भने, ‘हामीले जसरी बाह्रबुँदे समझदारी र शान्तिसम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ । यसबाट विचलित भयौं भने कहिल्यै पनि टुंगिँदैन भनेर नै यसमा निरन्तर सहमतिको प्रयास भइरहेको छ ।’