काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रिया कार्यक्रममा मंगलबार उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् ।

संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाइ थियो । संघीयतासम्बन्धी कानुन बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको टिप्पणी पनि उनले गरे ।

‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा, जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौं । हामी एकदमै अनुदार छौं । हाम्रो यसमा रुचि छैन । मैले नयाँ दल पनि हेरेँ । क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन । निजामती विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्,’ उनले भने ।

नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको उनको भनाइ थियो । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको धारणा पनि उनले राखे ।

‘सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरू रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौं,’ महामन्त्री थापाले भने, ‘तर हामी प्रदेशहरूलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौं । यसबाट परिणाम नआउने भयो ।’