काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको बताउनुभएको छ ।
सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको समेत बताउनुभयो ।
एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदे जस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गर्नुभयो । एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।अध्यक्ष ओलीले भन्नुभयो,हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो,समृद्ध नेपाल,सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आव्हान गर्नुभयो ।
उहाँले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताउनुभयो । उहाँले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने अठोट पनि व्यक्त गर्नुभयो ।
यही पुस २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ ।


0 comment