काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संवैधानिक व्यवस्थाअनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् । उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको पनि दाबी गरे ।
‘गठबन्धनको यति तितो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं ?’ पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका थापाले भने, ‘सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’
अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठीक नभएको उनको भनाइ छ । ‘जर्मनीमा १५ वर्ष २० वर्ष लगातार गठबन्धनको सरकार चल्यो । नचल्ने होइन । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ उनले भने, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’
उनले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।
‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन,’ थापाले भने, ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’ अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ ।
सँगसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्को आकार घटाउनुपर्ने पनि उनले बताए । प्रदेश सरकारमा चार-पाँचजना मन्त्री रहने भनेर संविधानमै लेख्नुपर्ने उनले बताए ।
‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन’ उनले भने, ‘प्रदेशमा चारजना-पाँचजना कतिजना मन्त्री बनाउने हो संविधानले बाँध्नुपर्छ । अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखिएको भए केन्द्रमा ५० जना मन्त्री बनेका हुन्थे ।’


0 comment