काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रियामा उनले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको धारणा राखे ।
‘लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्छ,’ उनले भने । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता-कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतिका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले आवश्यकताको सिद्धान्तअनुसार कांग्रेस-एमालेको सरकार बनेको दाबी गरे । ‘अहिले संसद्का दुई ठुला दल मिलेर सरकार बन्दा कहीँ नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’ उनले भने, ‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारै वर्तमान सरकार बनेको हो ।’
यस्तै उनले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको दाबी गर्नुभयो । राजनीति स्थायित्वविना आर्थिक समृद्धि नहुने भन्दै सिंहले अहिलेको सरकारले राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।
सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तर्क्रिया गर्नुका साथै लहान नगरपालिकाको कार्यक्रममा पनि सहभागी उनको सचिवालयले जनाएको छ ।


0 comment