काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गर्नुभएको छ  ।  

नेपालका लागि इजरायलका राजदूत स्मुलिकबाससँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मुलुकबीच भएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूत समक्ष आग्रह गर्नुभएको हो।

नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको  विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरूप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरूको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो । 

करिब पाँच हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा पनि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभयो  ।  

भेटका क्रममा राजदूतावासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताउनुभयो ।

राजदूतावासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको राजदूतावासले जनाएको छ ।