काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकाल पुन: पार्टीमै फर्किन दौडधुप गर्न थालेका छन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध लागेको भन्दै उनी रास्वपाबाट निष्कासनमा परेका थिए । ढकालले रविको कार्यशैलीले पार्टी बन्न नसक्ने भन्दै रोष प्रकट गरेका थिए । ‘गृहमन्त्री हुँदासमेत लामिछानेले राम्रोसँग काम गर्न नसकेको’ भन्दै ढकालले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।

ढकालले केही जिल्ला घुमेर प्रतिवेदन तयार पारेका थिए । प्रतिवेदनमा ढकालले सभापति लामिछाने सच्चिनुपर्ने राय समावेश गरेका थिए । तर, पार्टी अनुशासनबाहिर गएको भन्दै गत असार २५ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गर्‍यो । योसँगै केन्द्रीय समिति बैठकको निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरवलोकन गर्न भन्दै समय दिएको थियो । तर त्यसमा ढकालले पुनरावेदन भने गरेनन् । बरु आफूमाथिको कारबाही नै अवैधानिक रहेको भन्दै ढकालले निर्वाचन आयोगमा उजुरी दिए । यद्यपि यसबारे आयोगले अहिलेसम्म कुनै निर्णय भने नगरेको अवस्था छ ।

रास्वपाको भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी साधारण सदस्यबाटै निष्कासन गर्‍यो । ‘ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले कारबाही गर्नुपरेको हो,’ रास्वपाका नेता मनीष झाले भनेका थिए । यसअघि दुईपटक स्पष्टीकरण सोध्दा ढकालले सभापति लामिछानेमाथि नैतिकताको प्रश्न उठाए । रास्वापालाई रवि लामिछाने क्लब बनाइएको दाबी गरिरहे । कतैबाट उनी सन्तुष्ट नभएको अवस्थामा अहिले पुन: रास्वपामै फर्किन हारगुहार लगाइरहेका छन् । पार्टीको पुरानै जिम्मेवारीमा फर्किन उनले विभिन्न च्यानल प्रयोग गरिरहेका छन् ।

उनी प्रहरी हिरासतमा रहेका सभापति लामिछानेलाई भेट्न पटक-पटक प्रयास गरिरहेका छन् । तर सम्भव भने नभएको रास्वपाकै नेताहरुको दाबी छ । लामिछानेनिकट नेताहरू पनि ढकालले पटकपटक भेट्न खोजेको र पार्टीमा फर्कने वातावरण बनाइदिन आग्रह गरेको स्वीकार्छन् । सभापति लामिछाने र ढकालबीचको संवादहीनता तोड्न केही नेता सक्रिय भएका छन् । अहिले कार्यवाहक सभापतिका रुपमा रहेका डोलप्रसाद (डीपी) अर्यालसँग भने ढकाल संवादमै रहेको स्रोतको दाबी छ । अझ रास्वपाका झापा जिल्लाका केही नेताहरुले कार्यवाहक सभापति अर्यालसँग भेटेर ढकाललाई पुन: पार्टीमै सक्रिय बनाउनुपर्छ भन्ने लबिइङसहित ज्ञापनपत्र नै बुझाएको अवस्था छ ।

अझ रास्वपाका कोसी प्रदेश सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले मुकुललाई फिर्ता ल्याउनुपर्ने भन्दै कार्यवाहक सभापति अर्याललाई पत्रसमेत लेखेका थिए । उक्त पत्रमा रास्वपा आजसम्मकै सबैभन्दा ठुलो संकटको घडीमा रहेको र मुकुललाई पार्टीबाट निष्कासन गरेपछि पार्टी झन् कमजोर भएको भन्दै उनलाई पार्टीमै फिर्ता गर्नुपर्ने पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलन गरेर मात्र नपुगी सामाजिक सञ्जालमा समेत सभापति लामिछानेविरुद्ध विषवमन गरेका ढकाल पुन: पार्टीमा कसरी भित्रिएलान् यो हेर्न बाँकी रहेको रास्वपाकै नेताहरुको दाबी छ । ढकालनिकट नेताहरु भने यसलाई सामान्य रुपमा लिनुपर्ने जनाइरहँदा लामिछानेनिकट नेताहरु भने यो सम्भव नरहेको दाबी गर्छन् । पार्टीमा हुँदा सभापति लामिछानेविरुद्ध चर्को बोलिरहेका ढकाल त्यसयता भने मौन छन् ।

अझ लामिछाने सहकारी प्रकरणको अनुसन्धानमा प्रहरी नियन्त्रणमा रहेका बखत ढकाल मौन देखिएका छन् । अदालतले लामिछानेलाई दोषी ठहर गरे ढकाल पुन: पार्टीमा सक्रिय हुने तयारी गरेका छन् ।

पुस ७ गते लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोग लागेका रविसहित सात जनाविरुद्ध परेको मुद्दामा बुधबार सरकारी वकिलको बहस सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो ।

यता नेकपा एमालेले निष्कासन गरेपछि डा. भीम रावल नयाँ पार्टी खोल्न तयारीमा छन् । पार्टी खोल्नुअघि उनले बुधबार (पुस १७ गते) पत्रकार सम्मेलन गर्दै ‘मातृभूमि जागरण अभियान’ घोषणा गरे । उनले देशदौडाहा गरेर पार्टी बनाउने दाबी पत्रकार सम्मेलनमा गरे । रावलले गैरकम्युनिस्ट पार्टी बनाउने पनि घोषणा गरेका छन् । एमालेमा पाँचदशक राजनीति गरेका रावल उपाध्यक्ष बनेका थिए । चितवनमा भएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग रावलले प्रतिस्पर्धा गरेका थिए ।

सर्वसम्मत अध्यक्ष बन्न बाधा पुर्‍याएको र चुनाव गराउनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै रावलप्रति ओली असन्तुष्ट थिए । पुस १० गते एमालेबाट निकालिएका रावलले एक सातामै नयाँ पार्टी बनाउने घोषणा गरेका हुन् ।