काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रा डा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्रा.डा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज विमोचन गर्दै उहाँले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताउनुभएको हो ।
जीवनभर काँग्रेसमा काम गरेका नेताहरूको आशीर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । काँग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पु(याउनु भएको योगदानको चर्चा गर्नुभयो ।
पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्रा डा अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् । पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ ।
वि. सं २००९ चैत २३ गते पर्वतमा जन्मिनुभएका अधिकारीले नेपाली काँग्रेसको विदेश नीतिमा विद्यावारिधि गर्नुभएको छ । उहाँका १० वटा पुस्तक प्रकाशित छन् ।


0 comment