काठमाडौं — बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएर बेथितीको उजागर गरेका छन । राजनैतिक दलहरुले राजनैतिक नियुक्तिमा आफ्ना नाता पर्ने आसेपासेलाई नियुक्ती गर्ने अभ्यास कुनै नौलो होइन । दलहरुले आफ्ना श्रीमान श्रीमति साली भान्जा यस्तै यस्तै हरुलाई नियुक्ती गर्दै आएका छन । बागमति प्रदेशको अस्पतालहरुमा भएको नियुक्तीले यही कुरालाई पुष्टि गरेको छ ।
नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीका श्रीमान् पनि परेका छन् । मन्त्री खड्गीका श्रीमान् प्रकाश टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्ष नियुक्त भएका हुन ।
बागमती प्रदेशका १२ अस्पतालहरुमध्ये कांग्रेस–एमालेले ६–६ वटा भागबन्डा गरेका हुन् । प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ पहिलो संशोधन जारी भएपछि मंसिर २७ गते तथा पुस ८ र ९ गते ११ वटा अस्पतालको अध्यक्षमा नियुक्त गरिसकेको छ । कांग्रेसले काठमाडौं, भक्तपुर, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, रामेछाप, दोलखा र ललितपुर लिने गरी सहमति भएको जनाइएको छ ।
सहमति अनुसार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसद शशीजंग थापा, नुवाकोटको त्रिशूली अस्पतालमा उपेन्द्र बुढाथोकीलाई नियुक्त गरिएको छ ।
नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त भएका छन् । रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी नियुक्त भएका छन् । सिन्धुलीमा कांग्रेसबाट सिफारिस आउन बाँकी भएको हुनाले नियुक्ती बाँकी रहेको जनाइएको छ ।
एमालेको भागमा परेका चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाललाई नियुक्त गरिएको छ ।
रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरेलाई नियुक्त गरिएको छ ।
११ पुसमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको थियो । उनी मुख्यमन्त्री लामाको जोडबलमा नियुक्त भएको स्रोतको दाबी छ । सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे संयोजकत्वको सिफारिस समितिले सीटीईभीटीको निर्देशक नियुक्तिका लागि नुवाकोटकी लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो । मन्त्री खड्गीले दाहालको पक्ष लिए पनि मुख्यमन्त्री लामाको जिल्लाकी शान्ति लामा नियुक्त भएकी छन । क्षमता र योग्यता भन्दा पनि आफ्नालाई राजनैतिक नियुक्ती गरेर अवसर दिनु भनेको दलहरुभित्र मौलाउदै गएको बेथिती हो भन्छन राजनैतिक विश्लेषकहरु । हाम्रालाई भन्दा राम्रालाई अवसर दिने अभ्यास दलभित्रैबाट गर्न सकियो भने दलभित्रको सुशासन कायम हुने कुरामा विज्ञहरुको विश्वास रहेको पाइन्छ ।


0 comment