काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकाले हैन उहाँ आफै निक्लीएको बताएका हुन ।
प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ?
१० पुसमा बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।
भीम रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलले भने । संसद् भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको पोखरेलले बताए । संसद विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए । रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप लगाए । ‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे ।
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेपछि पार्टीले यो परिस्थीति बनेको पोखरेलको भनाइ थियो । भीम रावललाई एमालेले निष्कासन गरेको विषयले निकै तरिङगीत बनाएको छ ।


0 comment