काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताउनुभयो ।

नेता डा. कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिनुभयो । 

उहाँले काँग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नु पर्नेमा जोड दिनुभयो । 

नेता डा. कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताउनुभयो ।

यसैगरी उहाँले एक वर्षभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।