काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताउनुभएको हो । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्ययोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उहाँले बताउनुभयो ।
यस विषयमा मन्त्रालयमा विषयगत समितिको दोश्रो बैठक बसिसकेको उहाँले बताउनुभयो । उक्त समितिले पर्यटन क्षेत्रलाई कसरी रूपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताउनुभयो ।
नागरिक उड्यन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग- अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको एउटा मात्रै टि्वनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्विनअटर सञ्चालन गर्नेगरी काम भइरहेको उहाँको भनाइ थियो ।


0 comment