काठमाडौं —सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको बताएका छन् । 
लमजुङको मालिङमा क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पु¥याइने बताएका हुन । जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उनको भनाइ थियो । इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङको भनाई थियो । 
अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्प्युटर ल्याब उपलब्ध गराइने उनले उद्घोषसमेत गरेका छन । हालसम्म १० सामुदायिक विद्यालयमा १०÷१० थान कम्पुटर उपलब्ध गराइसकेको उनले जानकारी दिएका हुन । कम्प्युटर विनाको शिक्षा अधुरो हुने उनको कथन थियो ।