काठमाडौं - रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएको सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई स्वारोजगार मूलक क्षेत्रमा लगानी गरी मुलुकको आर्थिक विकास गर्नुपर्ने बताउनुभयो ।
नेपालबाट रोजगारीका लागि विदेश जाने युवाहरू धेरै छन्, उनीहरूले निश्चित समयसम्म मात्र त्यहाँ काम गर्न पाउँछन्, त्यहाँ कमाएको सीप र पुँजीलाई नेपालमा ल्याएर प्रयोगमा ल्याउनसके मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मन्त्री भण्डारीले बताउनुभयो।
चर्को ब्याजदर लिएर विदेश जाने श्रमिकलाई लक्षित गरी सरकारले बिनाधितो ऋणको व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो ।
विदेश जानुभन्दा पहिले लिनुपर्ने चर्को ब्याजदर र विदेश गएपछि अकालमा मृत्युवरण गर्नुपरेको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै श्रममन्त्री भण्डारीले सीप विकास गरी आधिकारिक निकायबाट मात्र वैदेशिक रोजगारीमा जान युवालाई आग्रह गर्नुभयो ।
श्रम स्वीकृतिबिना अवैध रूपमा विदेश गएर समस्यामा परेका नेपालीको उक्त समस्या दीर्घकालीन समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
श्रममन्त्री भण्डारीले हरेक स्थानीय तहसँग समन्वय गरेर त्यहाँभित्रका बेरोजगारीको अवस्था, स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्न रोजगारीका लागि युवा कुन देशमा गएका छन्, के सीप सिकेका छैन लगायत जानकारी लिन सुरु गरिसकेको बताउनुभयो ।


0 comment