काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।
अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका संसद्हरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउन उल्लेख गर्दै उहाँले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।
परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख घिमिरेले सङ्घ र प्रदेशबीच राम्रो समन्वय हुनु जरुरी भएको बताउनुभयो ।
सङ्घबाट बनेका कानुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै उहाँले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो । कतिपय कानुनको अभावका कारण सङ्घ र प्रदेशबीच खाडल तयार भएको उल्लेख गर्दै उहाँले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवस्थापिका बलियो भएमा त्यसले सरकारलाई जवाफदेही बनाउने बताउनुभयो । संविधान अनुसारका कानुन बनाउन नसक्ने र तिनै कानुनको अभावमा काम गर्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको आरोप व्यहोर्नु परेको उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले संविधानमा लेखिएका अधिकारको बाँडफाँड एवं कार्यान्वयन हुन सकेमा त्यसले विद्यमान समस्याको समाधानसँगै सङ्घीयता प्रभावकारी बन्ने धारणा राख्नुभयो ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पञ्चराम गुरुङ, गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापालगायतले आ- आफ्नो धारणा राख्नुभएको थियो ।
सातवटै प्रदेशका सभामुख, उपसभामुख सम्मिलित उक्त सम्मेलन बुधबारसम्म चल्ने छ ।


0 comment