काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज उद्‌घाटन गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो । 

सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास- निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवर्द्धनमा निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।