काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोक सभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताउनुभयो । 

काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको हो । 

स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उहाँले पटक- पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । 

प्रजातन्त्र पुनःस्थापनापछि वि. सं २०४९ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित हुनुभएको थियो । स्व सिंहकै पहलमा वि. सं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । 

यसैगरी वि. सं २०५६ मा उहाँ नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति सदस्य हुनुभएको थियो । स्व सिंहले  काङ्ग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने काँग्रेसले जनाएको छ ।