काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ ।

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने कोसिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो । 

यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उहाँको भनाइ थियो ।

“गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो । यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्चाउने प्रयासका उपज हुन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।”

प्रधानमन्त्री ओलीले अहिले आफूहरूले जे दुःख भोगेका छौँ त्यस्ता दुःखः हाम्रा छोरा नातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । 

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य  र सुसंस्कृत हुँदै आत्मीयता र भ्रातृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गर्नुभयो ।

‘नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उहाँले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना व्यक्त गर्नुभयो । 

राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले नेवारी संस्कृति र परम्पराले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताउनुभयो ।