काठमाडौं - गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो ।
उहाँले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुर भएको र संशोधन दुईवटा दलले मात्रै गर्ने नगर्ने पनि प्रस्ट पार्नुभयो ।
संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।”
सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो ।
यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उहाँले भन्नुभयो, “काँग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” दुई दलबीचमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उहाँले बताउनुभयो ।


0 comment