काठमाडौं - प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी पङ्तिलाई आग्रह गर्नुभएको छ ।

एमाले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका पक्षमा स्थापना भएको पार्टीका नेता तथा कार्यकर्ताका हैसियतले जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा सक्रियताका साथ एकताबद्ध भई लाग्न अनुरोध गर्नुभयो ।   

चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पार्टी पङ्ति एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उहाँले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनसमुदायमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
 
चिनियाँ कम्युनिष्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिक रुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले चीनमा कुनै पनि नेताले पार्टी नेतृत्वको  विरोध नगर्ने परिपाटी रहेको स्मरण गराउनुभयो ।
 
चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताउनुभयो ।